14.4c Kathmandu, Nepal

Sunday, May 31, 2026
७ महिना अगाडि

नर्भिकले बढायो नर्सहरूको तलब: स्नातक अध्ययन गरेकालाई मासिक न्यूनतम ३७ हजार

काठमाडौं- निजी क्षेत्रको अग्रणी अस्पताल नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्ना नर्सिङ कर्मचारीहरूको पारिश्रमिकमा वृद्धि गरेको छ। अस्पतालले स्नातक तह अध्ययन गरेका नर्सिङ कर्मचारीको न्यूनतम तलब ३७ हजार रुपैयाँ कायम गरिएको छ।

नर्भिक अस्पतालका अनुसार यो निर्णय कात्तिक १ गतेदेखि लागू हुनेछ। अस्पतालले चालु आर्थिक वर्षमा दोस्रो पटक पारिश्रमिक पुनर्मूल्याङ्कन गर्दै नर्सिङ कर्मचारीको तलब बढाएको हो।

अस्पतालले एक प्रेस विज्ञप्ति जारी गर्दै बिरामीको सेवामा अहोरात्र खटिने नर्सिङ कर्मचारीहरुको भूमिकालाई उच्च कदर गर्दै पारिश्रमिक वृद्धि गरिएको जनाएको छ।

नर्भिकले गत महिना भएको जेन–जी आन्दोलनका घाइतेहरूको निःशुल्क उपचार गर्ने क्रममा नर्सिङ तथा मेडिकल कर्मचारीहरूले देखाएको सदासयता र उच्च सेवाभावको पनि प्रशंसा गरेको छ।

अस्पतालले स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्न तथा उनीहरूको हित संरक्षणका लागि निरन्तर प्रयास जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।