काठमाडौं
– तीन दशकअघि स्वास्थ्य सेवामा प्रवेश गरेका स्वास्थ्यकर्मीहरुले बिरामीको सुगर जाँच गर्नुपर्दा ‘बोइलिङ मेथड’ अर्थात पानी उमालेर रंग हेरेर नतिजा निकाल्नुपर्ने अवस्था थियो। तर अहिले तीन सेकेन्डमै घरमै सुगर परीक्षण सम्भव छ।
– विक्रम संवद २०५० को दशकमा थाइराइड परीक्षण गर्न महिनौँ लाग्थ्यो। तर अहिले हरेक क्लिनिकमा तत्काल परीक्षण हुन्छ।
– गर्भमा रहेको बच्चाको अवस्था थाहा पाउन विगतमा सोली आकारको एउटा सानो सामग्रीले पेटमा राखेर सुन्नुपर्ने अवस्था थियो। तर अहिले फोर के तस्बिर क्षमताका अत्याधुनिक उपकरणहरु आइसकेका छन्।
यी त केही उदाहरण मात्र हुन्, स्वास्थ्य सेवाको क्षेत्रमा रोग तथा समस्याको पहिचानदेखि उपचारसम्मका लागि अत्याधुनिक उपकरण र प्रविधिको विकास भइसकेको छ। विश्वबजारमा आएका अत्याधुनिक उपकरणहरु केही समय ढिला भए पनि नेपालमा पनि आइपुगेका छन् जसले उपचार सेवालाई निकै सहज बनाइदिएको छ।
सहरी क्षेत्रमा मात्र नभइ ग्रामिण भेगमा समेत पुगेका आधुनिक उपकरण तथा स्वास्थ्य प्रविधिजन्य सामग्रीले समयमा नै रोगको पहिचान गर्न मद्दत गरिरहेको छ। भौगोलिक विकटता, दक्ष जनशक्तिको अभाव र पुरानो उपचार पद्धतिले बिरामीहरूले सहज र गुणस्तरीय उपचार पाउन नसकिरहेको समयमा आधारभूत स्वास्थ्य उपकरण र सरल प्रविधिको प्रयोगले यो समस्यालाई केही हदसम्म कम गर्न मद्दत पुर्याएको स्वास्थ्यकर्मीहरु बताउँछन्।
अत्याधुनिक अस्पताल र महँगा उपकरण मात्र होइन, सामान्य र सजिलै प्रयोग गर्न सकिने प्रविधिले पनि स्वास्थ्य सेवालाई जनताको पहुँचमा पुर्याइरहेको छ।प्रविधिमा आएको विकाससँगै ग्रामीण स्वास्थ्य चौकीमा पनि केही आधारभूत प्रविधि र उपकरणहरू देख्न सकिन्छ जसले बिरामीको ज्यान बचाउन ठूलो भूमिका खेल्छन्। उदाहरणका लागि, डिजिटल ब्लड प्रेसर मनिटर र अक्सिमिटर। यी दुई साना उपकरणले सजिलै बिरामीको रक्तचाप र अक्सिजनको मात्रा जाँच गर्न सक्छन्। यसले गर्दा डाक्टरहरूलाई आपतकालीन अवस्थामा छिटो निर्णय लिन मद्दत पुग्छ।
यस्तै, ग्रामीण स्वास्थ्य चौकीमा पाइने पोर्टेबल अल्ट्रासाउन्ड मेसिनले गर्भाअवस्थामा रहेका महिलाहरूलाई ठूलो राहत दिएको छ। यसले गर्दा उनीहरू सामान्य जाँचका लागि पनि लामो यात्रा गरेर शहर जानुपर्ने बाध्यताबाट मुक्त भएका छन्। सानो मेसिन बोकेर स्वास्थ्यकर्मीहरू गाउँ-गाउँमा पुग्छन् र महिलाहरूको स्वास्थ्य जाँच गर्छन्। यसले सुरक्षित मातृत्वलाई प्रोत्साहन दिएको छ।
नेपालमा स्वास्थ्य सेवालाई सहज बनाउने अर्को महत्वपूर्ण प्रविधि टेलिमेडिसिन हो। यस प्रविधिले दूरदराजका बिरामीलाई शहरका विशेषज्ञ डाक्टरसँग जोड्छ। दुर्गम गाउँमा रहेको स्वास्थ्यकर्मीले बिरामीको अवस्थाबारे सबै जानकारी भिडियो कलमार्फत विशेषज्ञ डाक्टरलाई दिन सक्छन् र उनीहरूको सल्लाहबमोजिम उपचार गर्न सक्छन्। यद्यपि यसको प्रयोग भने त्यतिधेरै भइसकेको भने छैन।
स्वास्थ्य उपकरण तथा प्रविधिजन्य सामग्रीले सेवालाई सहज बनाए पनि सरकारी स्वास्थ्य संस्थामा यी सामग्री खरिदको विषय भने त्यति सहज देखिँदैन। हरेकजसो स्वास्थ्य संस्थामा हुने खरिदको विषय प्रायजसो विवादमा नै आउने गर्छ। खरिदका क्रममा हुने आर्थिक चलखेलका कारण पनि अधिकांस खरिदका विषय विवादमा आउने गरेको विज्ञहरु बताउँछन्।
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख (हाल सरुवा) डा पवनजंग रायमाझी नियम अनुसार नै भइरहेका खरिदका विषयलाई पनि केही व्यापारीहरुले जबरजस्ती विवादमा तान्ने गरेको बताउँछन्। ‘नियम कानुन अनुसार नै खरिद भइरहेको हुन्छ। तर कुनै एक व्यापारीलाई त्यसमा चित्त बुझ्दैन अनि मुद्दा हाल्नेदेखि अन्य विवाद निकाल्ने काम हुन्छ’ उनले भने, ‘खरिद प्रक्रियामा कुनै सामान त एउटा व्यापारीलाई पर्छ। अनि अर्कोले विवाद निकाल्ने काम गर्छन्।’ उनले विभागबाट हुने सबै खरिदका कामहरु ऐन नियम र कानुन अनुसार नै हुने बताए।
उपकरण तथा स्वास्थ्य प्रविधिजन्य सामग्रीको क्षेत्रमा काम गर्दै आइरहेका व्यवसायीहरु पनि कतिपय विषय अनावश्यकमा विवादमा तानिने गरेको र कतिपय खरिद भने व्यापारीकै चाहना अनुसार स्वास्थ्य संस्थामा आवश्यक नभए पनि खरिद गरेर थन्काउने काम भइरहेको स्वीकार गर्छन्।
रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केमसन)का अध्यक्ष भक्त हमाल खरिद ऐन नै संशोधन गर्नुपर्ने बताउँछन्। ‘स्वास्थ्य सामग्री खरिदका लागि छुट्टै खरिद ऐन आवश्यक छ। यो संवेदनशील सामग्री भएकाले सामान्य ऐनमा अड्काउँदा गुणस्तरमा समस्या आउँछ,’ उनले भने।
उनले खरिद ऐनकै कारण नेपालमा गुणस्तरीय सामान ल्याउन समेत समस्या भइरहेको बताए। ‘सरकारले उपकरण खरिद गर्दा सस्तो सामान किन्ने परम्परा छ। खरिद ऐनमै “सबैभन्दा सस्तो सामग्री किन्नुपर्छ” भन्ने व्यवस्था भएकाले महँगो भए पनि गुणस्तरीय प्रविधि ल्याउन सकिँदैन। सरकारी कर्मचारी वा निकायले महँगो तर गुणस्तरीय प्रविधि किने भने समस्या हुन्छ कि भन्ने डरले त्यसो गर्न सक्दैनन्। फलस्वरूप, सस्तो सामान किनिन्छ, जसको गुणस्तर नाप्ने कुनै सुनिश्चित प्रक्रिया हुँदैन। यसैले खरिद ऐन संशोधन वा वैकल्पिक व्यवस्था गर्न जरुरी छ,’ उनले भने।
नेपालमा स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न र यसलाई सबैको पहुँचमा पुर्याउनका लागि भौतिक पूर्वाधारको निर्माणमा जोड दिइँदै आएको छ। अस्पतालका नयाँ भवन, स्वास्थ्य चौकी, र क्लिनिकहरू निर्माण गर्ने सरकारी प्रयासहरू सराहनीय छन्। तर, स्वास्थ्य सेवालाई साँच्चै नै सर्वव्यापी र प्रभावकारी बनाउनका लागि खाली भवनहरू मात्र पर्याप्त हुँदैनन्। पूर्वाधारसँगै उपकरण, प्रविधि र दक्ष जनशक्तिको एकीकृत विकास र व्यवस्थापन गर्नुपर्छ।
अहिले पनि नेपालका धेरै स्वास्थ्य संस्थामा आधुनिक उपकरण र प्रविधिको अभाव छ। अल्ट्रासाउन्ड, एक्स-रे, सीटी स्क्यान, र ल्याबोरेटरीका उपकरणहरू पर्याप्त मात्रामा छैनन्। भएका पनि धेरै पुराना र बिग्रिएका छन्। यसले गर्दा बिरामीहरूले सही समयमा सही उपचार पाउन सकेका छैनन्। उपकरणको अभावमा सामान्य रोगको निदान गर्न पनि समस्या हुन्छ। यसका साथै, पुरानो प्रविधिले रोगको निदानमा त्रुटि हुने सम्भावना पनि बढाउँछ।
अर्कोतर्फ, प्रविधिको प्रयोगले स्वास्थ्य सेवालाई धेरै प्रभावकारी र पहुँचयोग्य बनाउन सक्छ। त्यस्तै, बिरामीको स्वास्थ्यको रेकर्ड डिजिटल रूपमा राख्ने प्रणाली (इलेक्ट्रोनिक हेल्थ रेकर्ड) ले डाक्टरहरूलाई बिरामीको इतिहास बुझ्न सजिलो हुन्छ र उपचारमा निरन्तरता कायम राख्न मद्दत गर्छ।
नयाँ प्रविधि र उपकरणको प्रयोगका लागि दक्ष जनशक्ति पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। आधुनिक उपकरण चलाउन, त्यसको मर्मतसम्भार गर्न र नयाँ प्रविधिको सदुपयोग गर्नका लागि डाक्टर, नर्स, र अन्य स्वास्थ्यकर्मीहरूलाई नियमित तालिम दिन आवश्यक छ। यसले गर्दा जनशक्ति र प्रविधिको सही तालमेल हुन्छ र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि हुन्छ।